काठमाडौं । कीर्तिपुरस्थित भूमिहीन तथा सुकुम्बासीका लागि बनाइएको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियानीमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागी जेनजी युवाहरूले होल्डिङ सेन्टर पुगेका अभियानी माजिद अन्सारी, सरिस्मा थापा लगायतलाई प्रहरीले गैरकानुनी रूपमा नियन्त्रणमा लिएर कुटपिट गरेको दाबी गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीका अनुसार कुटपिटबाट घाइते भएका अभियानी माजिद अन्सारी हाल महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन्।
उनीहरूले सुकुम्बासी परिवारहरूको सुरक्षित बसोबास, राहत तथा दीर्घकालीन पुनःस्थापनाको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै होल्डिङ सेन्टरमा देखिएका समस्याको तत्काल समाधान गर्नुपर्ने बताएका छन्।
शान्तिपूर्ण रूपमा आयोजित प्रदर्शनका क्रममा जेनजी अभियानीहरूले प्रहरीप्रति सम्मान व्यक्त गर्दै सुरक्षाकर्मीलाई फूलसमेत प्रदान गरेका थिए। प्रदर्शनका सहभागीहरूले संवाद र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
तपाईको प्रतिक्रिया