गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको घटनाबारे संघीय सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा भएको वार्तापछि तीनै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिमा घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई राहत, मृतककी श्रीमतीलाई रोजगारी, छोरीको उच्च शिक्षाको व्यवस्था तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने विषय समेटिएको छ।
सहमतिअनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको सात दिनभित्र घटनाबारे प्रतिवेदन सरकारलाई बुझाउनेछ। सोही प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाइनेछ।
गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा पनि प्रचलित कानुन, विगतका नजिर तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमति भएको छ।
घटनाको दिन अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्नेछ। उनीहरूमाथिको थप कारबाही भने छानबिन समितिको प्रतिवेदनअनुसार गरिने उल्लेख छ।
सहमतिअनुसार काठमाडौं महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउनेछ। साथै मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरले व्यहोर्नेछ। यसका लागि सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरिनेछ।
महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकका आश्रित परिवारलाई राहत रकम उपलब्ध गराइनेछ। अन्तिम संस्कार तथा काठमाडौंमा हुने काजक्रियाको सम्पूर्ण व्यवस्थापन पनि महानगरपालिकाले गर्नेछ।
पीडित पक्षले शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रियामा सहयोग गर्ने र अन्तिम संस्कार सम्पन्न गर्ने जिम्मेवारी लिने सहमति भएको छ।
यस्तै, मृतकका एकाघरका परिवारको काठमाडौं आवतजावत, बसोबास तथा काजक्रियासम्बन्धी सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ। परिवारका सदस्यहरूको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिने सहमतिमा उल्लेख गरिएको छ।
सहमतिपत्रमा सरकार तथा स्थानीय तहका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्। पीडित पक्षका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपाली तथा वार्ता समितिका सदस्यहरूले हस्ताक्षर गरेका छन्।


तपाईको प्रतिक्रिया