बुधबार ३१ असार २०८३
समाज

आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

सोमबार असार २९, २०८३/ Monday 07-13-26

काठमाडौं । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपालसहित विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्दै विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई नेपाली भाषा र साहित्यको विकासमा अतुलनीय योगदान पुर्‍याएको व्यक्तित्वका रूपमा सम्मान गरिन्छ।

संस्कृत भाषामा रचित ‘रामायण’लाई सरल नेपाली भाषामा भावानुवाद गरी जनसाधारणसम्म पुर्‍याएको योगदानका कारण भानुभक्त नेपाली साहित्यका आदिकविका रूपमा परिचित छन्। उहाँद्वारा अनुवाद गरिएको ‘रामायण’ आज पनि नेपाली समाजमा घरघरमा श्रद्धापूर्वक पाठ गरिने परम्परा कायम छ।

भानुभक्तका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा अन्य फुटकर रचनाहरू नेपाली साहित्यका महत्वपूर्ण कृति मानिन्छन्। भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमार्फत नेपाली राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र जातीय एकतालाई सुदृढ बनाउन उहाँको ऐतिहासिक योगदान रहेको मानिन्छ।

भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् लगायत विभिन्न साहित्यिक तथा सामाजिक संस्थाले देशभर विविध कार्यक्रम आयोजना गरेका छन्। साथै भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदायको उल्लेख्य बसोबास रहेका स्थानमा पनि भानु जयन्ती विशेष रूपमा मनाइँदै आएको छ।

 

तपाईको प्रतिक्रिया