बैंककको बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
बैंकक ।थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चानविराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव फेला परेको छ। मृतकमध्ये १८ महिला र ९ पुरुष रहेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
प्रधानमन्त्री चानविराकुलले आगलागी सुरु भएपछि धेरै मानिस भवनको पछाडिपट्टि रहेको शौचालयमा लुकेर ज्यान बचाउने प्रयास गर्दा धुवाँका कारण निसास्सिएर मृत्यु भएको बताए। अधिकांश शव शौचालयभित्रै फेला परेको उनले जानकारी दिए।
घटनाका प्रत्यक्षदर्शी तथा प्रस्तुति दिइरहेका एक सङ्गीतकर्मीका अनुसार कट–आउट स्विचमा आगो सल्किएपछि केही क्षणमै विस्फोट भएको थियो। त्यसपछि आगो र बाक्लो धुवाँ तीव्र रूपमा फैलिँदा उपस्थित मानिसहरू भागदौड गर्न बाध्य भएका थिए।
अग्निनियन्त्रकहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिए पनि ठूलो मानवीय क्षति भएको जनाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको ठूलो लप्का निस्किएको र मानिसहरू आत्तिँदै बाहिर भागिरहेको दृश्य देखिन्छ।
बैंककका गभर्नर चाचार्ट सित्तिपुन्तले बारभित्र सजावटका लागि प्रयोग गरिएका प्रज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको प्रारम्भिक अनुमान गरिएको बताए। घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको छ।
तपाईको प्रतिक्रिया