निरन्तर वर्षापछि सतर्कता : बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकियो
काठमाडौँ । काभ्रेपलाञ्चोकस्थित रोशी खोला जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेपछि सुरक्षा सतर्कतास्वरूप बीपी राजमार्गमा सवारी साधनको आवागमन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सोमबार दिउँसो १२ः३३ बजे सूचना जारी गर्दै रोशी खोलामा पानीको बहाव बढ्न सक्ने जोखिमका कारण राजमार्गमा सवारी सञ्चालन ‘होल्ड’ गरिएको जनाएको हो।
प्रहरीका अनुसार वर्षाका कारण नदीमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेकाले यात्रु र सवारी साधनको सुरक्षालाई प्राथमिकता दिँदै यो निर्णय गरिएको हो। हालसम्म सडकमा अन्य कुनै अवरोध भने नरहेको जनाइएको छ।
सडकको अवस्था सामान्य भएपछि आवश्यक निरीक्षण र मूल्यांकन गरी अर्को सूचनामार्फत राजमार्गमा सवारी सञ्चालन पुनः सुरु भएको जानकारी दिइने प्रहरीले जनाएको छ।
यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया