बुधबार ३१ असार २०८३
समाज

प्रहरीलाई लागुऔषध नियन्त्रण उपकरण हस्तान्तरण

सोमबार असार २९, २०८३/ Monday 07-13-26

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई आवश्यक चेकजाँच उपकरण तथा विभिन्न सामग्री उपलब्ध गराएको छ।

सोमबार संघको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले संयुक्त रूपमा प्रहरीलाई लागुऔषध परीक्षणका उपकरण, पाँच थान साइकल, टर्चलाइटलगायतका सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोइरालाले शान्ति–सुरक्षा कायम राख्ने र लागुऔषध नियन्त्रण अभियानलाई सुदृढ बनाउन निजी क्षेत्रको सहकार्य महत्वपूर्ण रहेको बताए। हस्तान्तरण गरिएका सामग्रीले प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको विश्वास थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले प्राप्त उपकरणले लागुऔषधविरुद्धको अभियानलाई अझ सशक्त बनाउने उल्लेख गर्दै यस्तो अभियान सफल बनाउन समुदायको निरन्तर साथ र सहयोग आवश्यक पर्ने बताए।

संघका अध्यक्ष दिनेश मल्लले पछिल्लो समय युवाहरूमा लागुऔषध दुर्व्यसनको समस्या बढ्दो क्रममा रहेकाले यसको रोकथामका लागि निजी क्षेत्र, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको धारणा राखे। उनले कञ्चनपुर उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वअन्तर्गत शान्ति, सुरक्षा र लागुऔषधमुक्त समाज निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

यसैबीच, संघले जिल्ला प्रहरी कार्यालयलाई लागूपदार्थ सेवन परीक्षणका लागि प्रत्येक महिना १०० वटा परीक्षण कीट उपलब्ध गराउने घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया