बुधबार ३१ असार २०८३
बिश्वो

ट्रम्पले हर्मुजमा नाकाबन्दी दोहोर्‍याउने घोषणा, इरान आक्रामक

मंगलबार असार ३०, २०८३/ Tuesday 07-14-26

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जोडिएको रणनीतिक समुद्री मार्ग हर्मुज स्ट्रेटमा पुनः नाकाबन्दी लागू गर्ने घोषणा गरेका छन्। साथै, उक्त जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजबाट २० प्रतिशत शुल्क उठाइने पनि उनले बताएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले हर्मुज स्ट्रेट इरानसँग वा इरानबिना पनि खुला रहने उल्लेख गर्दै तथाकथित ‘इरानी नाकाबन्दी’ पुनः लागू गरिने बताएका हुन्। उनका अनुसार यो व्यवस्थाले इरानी जहाज तथा इरानसँग सम्बन्धित ग्राहकका जहाजको आवागमन नियन्त्रण गर्नेछ भने अन्य देशका जहाजलाई भने निष्पक्ष रूपमा आवतजावत गर्न दिइनेछ।

ट्रम्पले अबदेखि संयुक्त राज्य अमेरिकालाई ‘हर्मुज स्ट्रेटको संरक्षक’ का रूपमा परिचित गराइने दाबी गरेका छन्। उनले यस संवेदनशील समुद्री मार्गको सुरक्षामा लाग्ने खर्च व्यवस्थापन गर्न यहाँबाट आवतजावत गर्ने प्रत्येक मालवाहक जहाजबाट २० प्रतिशत शुल्क असुल गरिने र यसको कार्यान्वयन प्रक्रिया तत्काल सुरु हुने बताएका छन्।

अमेरिकी सेनाका अनुसार राष्ट्रपतिको निर्देशनपछि मंगलबार राति ८ बजेदेखि इरानी बन्दरगाहतर्फ लक्षित नाकाबन्दी पुनः लागू गरिनेछ।

यता, इरानको शीर्ष सैन्य मुख्यालय खातम अल–अन्बियाले अमेरिकाको घोषणाको कडा विरोध गर्दै हर्मुज स्ट्रेटको व्यवस्थापनमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार नगर्ने चेतावनी दिएको छ।

सैन्य मुख्यालयद्वारा जारी विज्ञप्तिमा अमेरिकाको गतिविधिले सम्पूर्ण क्षेत्रीय सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामीले अमेरिकालाई यो महत्वपूर्ण समुद्री मार्ग नियन्त्रण गर्ने अनुमति कहिल्यै दिएका छैनौँ र दिने पनि छैनौँ।’

इरानी सेनाले अमेरिकाको नाकाबन्दी प्रयासमा सहयोग गर्ने कुनै पनि पक्षलाई इरानको सार्वभौमसत्ताविरुद्धको कदम मानिने चेतावनी दिँदै, द्वन्द्व थप चर्किए त्यसको असर सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने उल्लेख गरेको छ।

 

तपाईको प्रतिक्रिया