बुधबार ३१ असार २०८३
समाज

पहिरोले नारायणगढ–मुग्लिन सडक पूर्ण अवरुद्ध

मंगलबार असार ३०, २०८३/ Tuesday 07-14-26

काठमाडौँ । अविरल वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यससँगै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाडौंतर्फ आउने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको हो।

निरन्तरको वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरोसँगै माथिबाट लेदो बग्दा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। बीच बाटोमा रोकिएका एम्बुलेन्ससहित अन्य सवारीसाधनलाई पहिरो पन्छाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।

सडक क्षेत्रमा अझै पहिरो खस्ने जोखिम उच्च रहेकाले अर्को सूचना जारी नभएसम्म थप सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (११४४), जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (१२३४) वा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया