काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले मंगलबार १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४–ज’ नामक ऋणपत्रमार्फत उक्त रकम संकलन गर्न सूचना सार्वजनिक गरेको हो।
सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन्। ऋणपत्रको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा तय हुनेछ भने ब्याज प्रत्येक छ–छ महिनामा भुक्तानी गरिने व्यवस्था छ। ऋणपत्रको अवधि एक वर्षको रहनेछ र परिपक्व भएपछि सावाँ फिर्ता गरिनेछ।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा सहभागी संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँको गुणकमा आवेदन दिन सक्नेछन्। साथै, यो ऋणपत्रलाई धितोका रूपमा प्रयोग गरी नेपाल राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकले पछिल्लो एक साताभित्र मात्रै विभिन्न सात वटा ऋणपत्र जारी गरेर बजारबाट १ खर्ब ८५ अर्ब रुपैयाँ संकलन गरिसकेको छ। आजको १५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री सम्पन्न भएपछि यस चरणमा बजारबाट झिकिएको रकम २ खर्ब रुपैयाँ पुग्नेछ।
यसअघि पनि गत पुस महिनामा राष्ट्र बैंकले असारभित्र परिपक्व हुने गरी ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट संकलन गरेको थियो। बजारमा तरलता अपेक्षाकृत उच्च रहेकाले यसपटक पनि एक वर्ष अवधिका ऋणपत्रमार्फत दीर्घकालीन रूपमा तरलता व्यवस्थापन गर्न लागिएको राष्ट्र बैंकको तयारी छ।
राष्ट्र बैंकले छोटो अवधिको तरलता व्यवस्थापनका लागि निक्षेप संकलन र स्थायी निक्षेप सुविधाजस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको भए पनि हाल भने एक वर्ष अवधिको ऋणपत्रमार्फत दीर्घकालीन रूपमा बजारबाट रकम झिक्ने रणनीति अपनाएको छ।
तपाईको प्रतिक्रिया