बिहीबार ३२ असार २०८३
समाज

त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द

बुधबार असार ३१, २०८३/ Wednesday 07-15-26

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षाध्यक्षको कार्यालय, पाठ्यक्रम विकास केन्द्रले केही विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिहरूका लागि यसअघि जारी गरिएका समकक्षता प्रमाणपत्र खारेज गरेको जनाएको छ।

केन्द्रले बुधबार सार्वजनिक सूचना जारी गर्दै छानबिन समितिको सिफारिसका आधारमा सम्बन्धित समकक्षता प्रमाणपत्रहरू रद्द गर्ने निर्णय गरिएको जानकारी दिएको हो। सूचनाअनुसार पहिले समकक्षता प्रदान गरिएका प्रमाणपत्रहरू आवश्यक परीक्षणपछि मान्य नरहेको निष्कर्षमा पुगेपछि रद्द गरिएको हो।

समकक्षता रद्द गरिएका विश्वविद्यालयहरूमा भारतको मेघालयस्थित सीएमजे युनिभर्सिटी (जोराबाट), टेक्नो ग्लोबल युनिभर्सिटी (सिलोङ), मणिपुरस्थित साङ्गाई इन्टरनेसनल युनिभर्सिटी तथा झारखण्डस्थित प्रज्ञान इन्टरनेसनल युनिभर्सिटी रहेका छन्।

केन्द्रका अनुसार यसअघि समकक्षता रद्द गर्ने प्रक्रियाअनुसार गोरखापत्र दैनिकमार्फत ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। तोकिएको अवधिभित्र सम्बन्धित व्यक्तिहरूले पेस गरेका कागजातले समकक्षता कायम राख्न पर्याप्त आधार पुष्टि नगरेकाले उनीहरूका नाममा जारी गरिएका समकक्षता प्रमाणपत्र रद्द गर्ने निर्णय गरिएको हो।

यो निर्णय त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम गरिएको केन्द्रले जनाएको छ। निर्णयसँग सम्बन्धित विस्तृत विवरण केन्द्रको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया