तेस्रो दिन पनि बढ्यो नेप्से, चार अर्ब ५६ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले लगातार तेस्रो कारोबार दिन पनि वृद्धि कायम राखेको छ। बिहीबार नेप्से ७.५० अंकले बढ्दै २,५९७.८० बिन्दुमा पुगेको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.२८ प्रतिशतको वृद्धि हो।
यद्यपि, बजार सकारात्मक रहे पनि बुधबारको तुलनामा वृद्धिदर भने केही सुस्त देखिएको छ। बुधबार नेप्से १४ अंकले बढेको थियो भने बिहीबारको वृद्धि एकल अंकमा सीमित रह्यो।
आजको कारोबारमा १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बिहीबार ३९ हजार ५९५ पटकको कारोबारमार्फत ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच भएको छ। यसबाट कुल ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
अघिल्लो दिनको तुलनामा कारोबार रकम, कारोबार संख्या तथा किनबेच भएको सेयर परिमाण तीनै सूचकमा सुधार देखिएको छ। बुधबार ३८ हजार ८३६ पटकको कारोबारमा ८४ लाख ७३ हजार १६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
उपसमूहगत प्रदर्शनमा भने मिश्रित अवस्था देखिएको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहका परिसूचक घटेका छन्। बाँकी अधिकांश उपसमूहमा हरियाली देखिएकाले समग्र नेप्से परिसूचक सकारात्मक रहन सफल भएको हो।
तपाईको प्रतिक्रिया