शुक्रबार १ श्रावण २०८३
समाज

धादिङमा पहिरो, मलेखु–मुग्लिन सडकखण्ड भएर सवारी सञ्चालन रोकियो

बिहीबार असार ३२, २०८३/ Thursday 07-16-26

काठमाडौँ । मलेखु–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको जवाङखोलामा बिहीबार पहिरो खसेपछि पृथ्वी राजमार्ग भएर हुने सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडकमाथिबाट ठूलो परिमाणमा पहिरो खसेपछि सुरक्षाको दृष्टिले उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालन तत्कालका लागि रोकिएको हो।

पहिरोका कारण सयौं यात्रु र दर्जनौं मालवाहक तथा सार्वजनिक सवारीसाधन बाटोमै रोकिएका छन्। सडक डिभिजन कार्यालय तथा सुरक्षा निकायको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको प्रशासनले जनाएको छ।

प्रशासनले यात्रु तथा चालकलाई अनावश्यक जोखिम नलिन र सम्बन्धित निकायबाट अर्को सूचना जारी नभएसम्म सो सडकखण्ड प्रयोग नगर्न आग्रह गरेको छ। पहिरो पूर्ण रूपमा हटाएर सडक सुरक्षित बनेपछि मात्रै यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

 

तपाईको प्रतिक्रिया