मंगलबार ५ श्रावण २०८३
खेलकुद

फ्रान्सविरुद्ध ६–४ को रोमाञ्चक जित, साकाको ह्याट्रिकमा इङ्गल्यान्ड तेस्रो

आइतबार श्रावण ३, २०८३/ Sunday 07-19-26

काठमाडौँ ।  बुकायो साकाको शानदार ह्याट्रिक प्रेरित प्रदर्शनमा इङ्गल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) जितेको छ। गोलले भरिएको रोमाञ्चक प्रतिस्पर्धामा हार बेहोरे पनि फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सफल भए।

फाइनल पुग्ने लक्ष्यसहित प्रतियोगितामा उत्रिएका दुवै टोली सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि आमनेसामने भएका थिए। फ्रान्स स्पेनसँग तथा इङ्गल्यान्ड अर्जेन्टिनासँग पराजित भएको थियो।

मियामीमा शनिबार राति अत्यधिक गर्मीबीच भएको खेलमा दुवै प्रशिक्षकले टोलीमा व्यापक परिवर्तन गरेका थिए। इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले ह्यारी केन र जुड बेलिङ्घमलाई सुरुआती टोलीमा नराख्दा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले ओसमाने डेम्बेले र ब्राडली बार्कोलालाई बेन्चबाट सुरु गराएका थिए।

इङ्गल्यान्डले खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्‍यो। तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै अग्रता दिलाए भने त्यसको केही समयपछि एज्री कोन्साले हेडमार्फत दोस्रो गोल थपे। पहिलो हाफको ३०औँ मिनेटपछि साकाले लगातार दुई गोल गर्दै इङ्गल्यान्डलाई पहिलो हाफमै ४–० को बलियो अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो। प्रशिक्षक डेसच्याम्पसले गरेको परिवर्तन प्रभावकारी बनेपछि एमबाप्पेले आफ्नो नवौँ गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिए। त्यसपछि बार्कोलाले गोल गरे भने ओलिसेको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर ४–३ मा झारे। यससँगै उनले विश्वकपमा कुल २२ गोल पूरा गर्दै इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए।

तर खेलको अन्त्यतिर मालो गुस्टोले डिजेड स्पेन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इङ्गल्यान्डले पेनाल्टी पायो। साकाले त्यसलाई गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई ५–३ को अग्रता दिलाए।

इन्जुरी समयमा दुवै टोलीबाट थप एक–एक गोल भयो। फ्रान्सका लागि डेम्बेलेले गोल फर्काए भने बेलिङ्घमले इङ्गल्यान्डको छैटौँ गोल गर्दै ६–४ को जित सुनिश्चित गरे। यही गोलसँगै बेलिङ्घम एउटै विश्वकप संस्करणमा सात गोल गर्ने पहिलो इङ्गलिस खेलाडी बने।

सन् १९६६ पछि विश्वकपमा इङ्गल्यान्डको यो उत्कृष्ट उपलब्धि हो। यता, सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताएका तथा २०२२ मा उपविजेता बनाएका प्रशिक्षक डिडियर डेसच्याम्पसको बिदाइ भने हारसँगै भएको छ।

अब विश्वकप २०२६ को उपाधिका लागि सोमबार बिहान न्युजर्सीको इस्ट रदरफोर्डमा तीन पटकको च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच फाइनल खेल हुनेछ।

 

तपाईको प्रतिक्रिया