स्वर्णिम हटाउने हल्लाबीच काभ्रेमा रवि–स्वर्णिमको गोप्य भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले काभ्रेको दुसित थानी रिसोर्टमा करिब २४ घण्टा भेटवार्ता गरेका छन्। भेटमा सरकार सञ्चालन, प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्रीबीच देखिएको समन्वय अभाव, बजेट तथा कर नीतिबारे छलफल भएको स्रोतले जनाएको छ।
भेटका क्रममा रविले महत्त्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीसँग नियमित समन्वय गरेर अघि बढ्न स्वर्णिमलाई सुझाव दिएका थिए। स्वर्णिमले पनि अर्थ मन्त्रालयका केही निर्णयमा समन्वय कमजोर भएको स्वीकार गर्दै आगामी दिनमा सहकार्य बढाउने प्रतिबद्धता जनाएको बताइएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाहले अर्थमन्त्रीको कार्यशैलीबारे केही असन्तुष्टि व्यक्त गरे पनि उनलाई पदबाट हटाउने कुनै योजना नरहेको स्पष्ट पारिएको छ। पछिल्लो समय अर्थमन्त्री परिवर्तन हुने चर्चा चले पनि त्यसलाई पार्टी स्रोतले निराधार बताएको छ।
दुई नेताबीच रास्वपाको संगठन विस्तार, केन्द्रीय समिति, सचिवालय तथा पदाधिकारी चयनका विषयमा पनि छलफल भएको बताइएको छ। आगामी स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई सुदृढ बनाउने र नेतृत्वबीच समन्वय कायम राख्ने विषयमा पनि उनीहरूबीच सहमति भएको स्रोतको दाबी छ।
तपाईको प्रतिक्रिया