मंगलबार ५ श्रावण २०८३
खेलकुद

गोल्डेन बुट जितेका एमबाप्पे पुरस्कार ग्रहण समारोहमा किन देखिएनन् ?

च्याम्पियन स्पेनकै पोल्टामा अधिकांश व्यक्तिगत अवार्ड
सोमबार श्रावण ४, २०८३/ Monday 07-20-26

काठमाडौं ।फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक १० गोल गर्दै लगातार दोस्रो पटक गोल्डेन बुट जिते। तर, स्पेन र अर्जेन्टिनाबीचको फाइनलपछि आयोजित पुरस्कार वितरण समारोहमा उनी भने उपस्थित भएनन्।

स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै १६ वर्षपछि विश्वकप उपाधि जितेपछि आयोजित भव्य अवार्ड समारोहमा विश्वकप ट्रफीसहित विभिन्न व्यक्तिगत पुरस्कार वितरण गरिएको थियो। त्यसक्रममा स्पेनका रोड्रीले प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल, उनाइ सिमोनले गोल्डेन ग्लोभ तथा युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडी (यङ प्लेयर अवार्ड) प्राप्त गरे। फेयर प्ले अवार्ड भने नेदरल्यान्ड्सको राष्ट्रिय टोलीलाई प्रदान गरियो।

तर, प्रतियोगिताभर १० गोल गर्दै गोल्डेन बुट जितेका एमबाप्पे भने समारोहमा नदेखिएपछि सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म यसको कारणबारे व्यापक चर्चा सुरु भएको छ।

हालसम्म फिफा वा एमबाप्पेको टोलीले उनी पुरस्कार ग्रहण समारोहमा किन उपस्थित भएनन् भन्नेबारे कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन। त्यसैले उनको अनुपस्थितिको वास्तविक कारण अझै सार्वजनिक भएको छैन।

यद्यपि, फ्रान्सले तेस्रो स्थानका लागि भएको खेल फाइनलभन्दा एक दिनअघि नै खेलेको र टोली त्यसपछि बिदा भइसकेको हुन सक्ने अनुमान गरिएको छ। तर, यसबारे पनि फिफा वा एमबाप्पेको टोलीबाट कुनै आधिकारिक पुष्टि भएको छैन।

एमबाप्पेले यस विश्वकपमा १० गोल गर्दै लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने दुर्लभ उपलब्धि हासिल गरेका छन्। यद्यपि, उनी पुरस्कार वितरण समारोहमा अनुपस्थित रहनुले फाइनलको अर्को चर्चित विषय बनेको छ।

 

तपाईको प्रतिक्रिया