मंगलबार ५ श्रावण २०८३
समाज

च्याउ खोज्न निकुञ्ज पसेका तीन महिला भेटिए, १४ अझै सम्पर्कविहीन

सोमबार श्रावण ४, २०८३/ Monday 07-20-26

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न प्रवेश गरी सम्पर्कविहीन भएका महिलामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ भने बाँकी १४ जनाको खोजी कार्य जारी रहेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंह दल गणका सह–सेनानी सुमन केसी नेतृत्वको टोलीले बेल्डाडी गाउँपालिका–२ की लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सोमबार बिहान निकुञ्जभित्रबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

सेनाका अनुसार उनीहरूलाई निकुञ्जको लल्लेरी पोस्टबाट करिब चार किलोमिटर भित्रको जंगल क्षेत्रमा फेला पारिएको थियो। तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए।

यता, भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका १४ जना महिलासँग अझै सम्पर्क हुन सकेको छैन। उनीहरूको खोजीका लागि नेपाली सेनाले ठूलो संख्यामा खोज तथा उद्धार टोली परिचालन गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सम्पर्कविहीन महिलाहरूको खोजी तीव्र रूपमा भइरहेको र सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालित रहेको जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया