मंगलबार ५ श्रावण २०८३
जीवनशैली

मनसुनसँगै झाडापखाला, डेंगु र हैजाको जोखिम बढ्यो

आइतबार श्रावण ३, २०८३/ Sunday 07-19-26

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशभर झाडापखाला, हैजा, डेंगु, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी संक्रामक रोगको जोखिम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित खानेपानी, स्वच्छ खाना र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन नागरिकलाई आग्रह गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा देशभर ७८५ जना तीव्र झाडापखालाका बिरामी फेला परेका छन्। त्यस्तै, इन्फ्लुएन्जाजस्तो रोगका ५००, श्वासप्रश्वास संक्रमणका ४३६, डेंगुका ११३, स्क्रब टाइफसका ३७ र ज्वरोसँगै बिबिरा आउने समस्या भएका ३३ बिरामी भेटिएका छन्।

महाशाखाका अनुसार झाडापखालाका सबैभन्दा धेरै बिरामी बागमती प्रदेशमा, डेंगुका संक्रमित कोशी प्रदेशमा तथा इन्फ्लुएन्जाका बिरामी सुदूरपश्चिम प्रदेशमा देखिएका छन्। वर्षायामसँगै काठमाडौं उपत्यकामा हैजाको जोखिम पनि बढेको भन्दै ट्यांकर वा अन्य स्रोतबाट ल्याइएको पानी उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।

स्वास्थ्य मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा निगरानी, खानेपानी परीक्षण र जनचेतना अभियानलाई तीव्र बनाएको जनाएको छ। बारम्बार पखाला लाग्ने, बान्ता हुने, अत्यधिक तिर्खा लाग्ने, शरीर कमजोर हुने वा पिसाब कम हुने लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न चिकित्सकहरूले आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया