मंगलबार ५ श्रावण २०८३
खेलकुद

विश्वकपको उपाधिका लागि आज राति अर्जेन्टिना–स्पेन भिड्दै

दोस्रो उपाधिको खोजीमा अर्जेन्टिना, १६ वर्षपछि विश्वकप जित्ने लक्ष्यमा
आइतबार श्रावण ३, २०८३/ Sunday 07-19-26

काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्। लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना र सन् २०१० पछि पुनः विश्व च्याम्पियन बन्ने अभियानमा रहेको स्पेनबीचको फाइनललाई विश्व फुटबलको सबैभन्दा बहुप्रतीक्षित खेलका रूपमा हेरिएको छ।

फाइनलअघि सबैको नजर अर्जेन्टिनाका कप्तान लियोनल मेसीमा छ। ३९ वर्षीय मेसीका लागि यो सम्भावित अन्तिम विश्वकप खेल हुन सक्ने अनुमान गरिएको छ। सन् २०२२ को उपाधिपछि लगातार दोस्रो विश्वकप जित्दै इतिहास रच्ने अवसर मेसीसँग छ।

अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो। स्पेनले भने फ्रान्सलाई २–० ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो।

विश्लेषकहरूका अनुसार अर्जेन्टिनाले मेसीको नेतृत्व, आक्रामक खेल र तीव्र प्रतिआक्रमणमा भरोसा गर्नेछ भने स्पेन बल नियन्त्रण, छोटो पास र सामूहिक रणनीतिका साथ मैदान उत्रनेछ। अनुभवी अर्जेन्टिना र युवा जोशले भरिएको स्पेनबीचको यो भिडन्तलाई अनुभव र नयाँ पुस्ताबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ।

विश्वभरका समर्थकको ध्यान केन्द्रित भएको यो फाइनलले नयाँ इतिहास लेख्नेछ। मेसीले लगातार दोस्रो विश्वकप जित्दै आफ्नो विरासत थप बलियो बनाउनेछन् वा स्पेनले १६ वर्षपछि पुनः विश्व फुटबलको शिखर चुम्नेछ भन्ने टुंगो आइतबार राति लाग्नेछ।

 

तपाईको प्रतिक्रिया