शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
काठमाडौँ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेशलाई सहज, प्रविधिमैत्री र पारदर्शी बनाउन ई–टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ। परीक्षण सफल भएपछि आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयको पहलमा सुरु गरिएको यो प्रणालीलाई चरणबद्ध रूपमा अन्य प्रवेशद्वारमा पनि विस्तार गरिनेछ। मन्त्रालयले कम्प्युटर, थर्मल प्रिन्टर, क्युआर स्क्यानरलगायत आवश्यक उपकरण उपलब्ध गराउने तयारी गरेको छ। विद्युत् र इन्टरनेट सुविधा भएका अन्य चेकपोस्ट तथा प्रवेशद्वारमा पनि क्रमशः ई–टिकेटिङ सेवा लागू गरिने योजना छ।
मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज र आरक्षमा ई–टिकेटिङ सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ई–टिकेटिङ प्रणाली कार्यान्वयनसँगै पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीले सहज सेवा पाउने विश्वास व्यक्त गरिन्।
तपाईको प्रतिक्रिया