मंगलबार ३ कार्तिक २०८३
समाज

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्तिसँगै २५ करोडको शंकास्पद कारोबार फेरि चर्चामा

सोमबार कार्तिक २, २०८३/ Monday 10-19-26

काठमाडौं । प्रसिद्ध बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयसँगै उनीमाथिको पुरानो सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद पुनः चर्चामा आएको छ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। उनको नियुक्तिपछि विगतको शंकास्पद वित्तीय कारोबारसम्बन्धी विवादलाई लिएर प्रश्न उठ्न थालेका छन्।

२०७५ सालमा हङकङबाट डोल्माको तत्कालीन मेगा बैंकस्थित खातामा तीन दिनको अवधिमा १६ लाख ४९ हजार ९४० अमेरिकी डलर जम्मा भएको थियो। रकमको स्रोत र वैधानिकतामाथि प्रश्न उठेपछि नेपाल राष्ट्र बैंकको निर्देशनमा खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धानका लागि पत्राचार गरिएको थियो।

त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापन अभियानमा डोल्माले एक करोड रुपैयाँ सहयोग घोषणा गरेकी थिइन्। उक्त सहयोग र रकम फुकुवाबीच सम्बन्ध रहेको आरोप लागे पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

डोल्माले भने उक्त रकम सामाजिक सेवाका लागि प्राप्त भएको बताउँदै आएकी छन्। तर, सो प्रकरणको अनुसन्धान र कानुनी निष्कर्षबारे सार्वजनिक रूपमा स्पष्ट जानकारी नभएको भन्दै प्रश्न उठाइएको छ।

 

तपाईको प्रतिक्रिया