काठमाडौं । धादिङमा त्रिशूली नदी किनारमा भेटिएको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट हुँदा दुई दाजुभाइ घाइते भएका छन्।
सोमबार अपराह्न बेनिघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेघाटमा भएको विस्फोटमा २६ वर्षीय जंगे परियार र उनका भाइ २४ वर्षीय रामचन्द्र परियार घाइते भएका हुन्।
काभ्रेको ढुङखर्क गाउँपालिका–९ घर भएका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोराले त्रिशूली नदी किनारमा फेला पारेको शंकास्पद वस्तु आफूहरू बस्दै आएको कोठामा ल्याएका थिए।
ज्यामिरेघाटस्थित सरस्वती खड्काको घरमा भाडामा बस्दै आएका उनीहरूले उक्त वस्तु फुटाउन खोज्दा अचानक विस्फोट भएको थियो। विस्फोटबाट निस्किएका छर्रा लागेर जंगे र रामचन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ।
विस्फोट भएको वस्तुको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया