मंगलबार ३ कार्तिक २०८३
बिश्वो

सुडानमा भीषण ड्रोन आक्रमण : कम्तीमा ८० जनाको मृत्यु, दर्जनौँ घाइते

सोमबार कार्तिक २, २०८३/ Monday 10-19-26

काठमाडौं । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक बजारनजिक भएको भीषण ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ। आक्रमणमा ज्यान गुमाउनेमध्ये अधिकांश घर फर्कन सवारीसाधनको प्रतीक्षामा रहेका सर्वसाधारण रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार आइतबार साँझ पश्चिम कोर्डोफान राज्यको अल–दिबाब सहरमा उक्त आक्रमण भएको हो। घटनामा ठूलो मानवीय क्षति भएको स्थानीय प्रत्यक्षदर्शी र चिकित्सकहरूले पुष्टि गरेका छन्।

प्रत्यक्षदर्शी अहमद अबाकर वादीले आक्रमणपछि घटनास्थलमा भयावह अवस्था सिर्जना भएको बताएका छन्। उनले आक्रमणमा मृत्यु भएका ५० जनाको शव व्यवस्थापन तथा अन्त्येष्टिमा आफूले सहयोग गरेको जानकारी दिएका छन्। मृतकमध्ये उनका आफ्नै भाइ मोहम्मदसमेत रहेका छन्।

आक्रमणमा गम्भीर घाइते भएका ४७ जनालाई उपचारका लागि नजिकैको अल–मुजलाद सहर पुर्‍याइएको थियो। त्यहाँ उपचारका क्रममा थप ३० जनाको मृत्यु भएको चिकित्सकीय स्रोतले जनाएको छ।

घटनास्थल आसपास सञ्चार सेवा अवरुद्ध भएकाले आक्रमणसम्बन्धी विवरण बाहिर आउन कठिनाइ भइरहेको छ। प्रत्यक्षदर्शी वादीले भूउपग्रह इन्टरनेटको सहायताबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई घटनाबारे जानकारी गराएका हुन्।

आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान गए पनि घटनाको जिम्मेवारी कसले लिएको हो भन्ने विषयमा तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

 

तपाईको प्रतिक्रिया