काठमाडौं । सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५७४ किलो ८७० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले खोजी थालेको थियो।
इलाका प्रहरी कार्यालय दुहबी र प्रहरी टोलीले बूढी खोलाको किनारमा ना.४ च ६०६३ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिइएको छ। तर, एम्बुलेन्सका चालक भने सवारीसाधन छाडेर फरार भएका छन्।
फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
तपाईको प्रतिक्रिया