कांग्रेस इतर समूहले सार्वजनिक गर्यो पार्टी एकताका लागि पाँचबुँदे प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको एकतालाई सुदृढ बनाउन आफूहरूले अघि सारेको पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति तथा जिल्ला सभापतिहरूको बैठकले उक्त प्रस्ताव सार्वजनिक गरेको हो।
बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा पार्टी एकताका विषयमा संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार गरिएको आरोप लगाइएको छ। नियमित महाधिवेशनका पक्षधरहरूले नयाँ र अस्वीकार्य प्रस्ताव अघि सारेर एकतालाई असहज बनाएको भन्ने प्रचार निराधार, मिथ्या र भ्रामक रहेको इतर समूहको भनाइ छ।
विज्ञप्तिअनुसार उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत पठाएको प्रस्तावमाथि २०८३ जेठ १८ गते नै औपचारिक छलफल गरी अधिकतम सहमतिका आधारमा पाँचबुँदे जवाफ दिइएको थियो। सोही प्रस्ताव अहिले सार्वजनिक गरिएको समूहले जनाएको छ।
इतर समूहका पाँच प्रस्ताव
१. केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने
चौधौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई विशेष महाधिवेशनबाट बन्ने कार्यसमितिसँग समायोजन गर्दै सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने।
२. कार्यसम्पादन समिति गठन गर्ने
सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने।
३. १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने
पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने।
४. महाधिवेशनसम्बन्धी समितिहरू गठन गर्ने
वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू गठन गर्ने।
५. क्रियाशील सदस्यलाई स्वतः सहभागी गराउने
यसअघि टुंगो लागिसकेका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुने व्यवस्था गर्ने, उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने तथा डिजिटल इन्ट्रीलाई सदस्यता नवीकरण वा महाधिवेशनमा सहभागी हुने अधिकारसँग नजोड्ने।
तपाईको प्रतिक्रिया