विश्वकप फाइनल: टिकट ९ लाखदेखि ९२ लाख रुपैयाँसम्ममा बिक्री हुँदै
काठमाडौं । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलअघि टिकटको मूल्यले नयाँ रेकर्ड बनाएको छ। साविक विजेता अर्जेन्टिना र स्पेनबीच आज हुने उपाधि भिडन्तका लागि टिकटको माग अत्यधिक बढेसँगै यसको मूल्य नेपाली रुपैयाँमा करिब ९ लाखदेखि ९२ लाखसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फिफाको आधिकारिक पुनर्बिक्री (रिसेल) प्लेटफर्ममा उपलब्ध अधिकांश टिकट खेलअघि नै बिक्री भइसकेका छन्। अन्तिम समयमा उपलब्ध सामान्य टिकटको मूल्य करिब ९ लाख रुपैयाँबाट सुरु भएको छ भने उत्कृष्ट सिट र प्रिमियम हस्पिटालिटी प्याकेजको मूल्य झण्डै ९२ लाख रुपैयाँसम्म पुगेको छ। दोस्रो बजारमा भने केही टिकट अझ महँगो मूल्यमा कारोबार भइरहेको बताइएको छ।
विश्वकपको फाइनल अमेरिका, न्यु जर्सीस्थित मेटलाइफ स्टेडियम (आधिकारिक नाम न्युयोर्क–न्यु जर्सी स्टेडियम) मा हुँदैछ। करिब ८२ हजार ५०० दर्शक क्षमता रहेको रंगशाला पूर्ण रूपमा भरिने अपेक्षा गरिएको छ।
नेपाली समयअनुसार आज राती १२ः४५ बजे बाट सुरु हुने खेलका लागि रंगशालाका प्रवेशद्वार चार घण्टाअघि नै खोलिनेछन्। सुरक्षा व्यवस्थाका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ।
साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधिको लक्ष्यसहित मैदान उत्रिँदै छ भने स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने अभियानमा छ। विश्वभरका करोडौं फुटबल समर्थकको नजर अहिले यही फाइनलमा केन्द्रित छ।
तपाईको प्रतिक्रिया