१६ वर्षपछि विश्वविजेता बन्यो स्पेनः अर्जेन्टिना १-० ले पराजित
काठमाडौं । युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। सन् २०१० पछि पहिलो पटक विश्वकप जित्दै स्पेनले १६ वर्षको उपाधि खडेरी अन्त्य गरेको हो।
अमेरिकाको न्युजर्सीस्थित स्टेडियममा आइतबार राति सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
निर्णायक गोल स्पेनका फेर्रान टोरेजले अतिरिक्त समयको १०६औँ मिनेटमा गरे। उनले गरेको यही एकमात्र गोल स्पेनलाई विश्वकपको दोस्रो उपाधि दिलाउन पर्याप्त बन्यो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेन १–० को जितसहित विश्वविजेता बन्यो।
अर्जेन्टिनाले खेलको अन्त्यतिर ठूलो झट्का बेहोरेको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले निर्धारित समयमै दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। १० खेलाडीमा सीमित बनेको अर्जेन्टिनामाथि स्पेनले अतिरिक्त समयमा दबाब बढाउँदै निर्णायक गोल गरेको हो।
साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा रहे पनि फाइनलमा स्पेनसँग पराजित हुँदै उपविजेतामै सीमित भयो।
विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो।
तपाईको प्रतिक्रिया