मंगलबार ५ श्रावण २०८३
राजनीति

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावितविरुद्धको उजुरी खोलिने

मंगलबार श्रावण ५, २०८३/ Tuesday 07-21-26

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने भएको छ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका व्यक्तिविरुद्ध प्राप्त उजुरी खोल्ने तथा ती उजुरी समिति सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ। साथै, प्रस्तावित उम्मेदवारहरूले पेस गरेका कार्ययोजना पनि सदस्यहरूलाई उपलब्ध गराइनेछ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले उनीहरूको नियुक्ति गर्ने प्रावधान रहेको छ।

 

तपाईको प्रतिक्रिया