बिहीबार ७ श्रावण २०८३
माैसम

आज पनि देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने

बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै रहेको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आज राति पनि मौसम पूर्ण रूपमा सुधार हुने संकेत छैन। हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षा हुने क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले स्थानीय प्रशासन र विभागबाट जारी हुने पछिल्ला मौसम सूचनामा नियमित रूपमा अद्यावधिक रहन अनुरोध गरिएको छ।

 

तपाईको प्रतिक्रिया