विश्वकप लिग–२: दबाबमा नेपाल, आज नेदरल्यान्ड्ससँग सामना गर्दै
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग महत्वपूर्ण प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नामिबियासँग अप्रत्याशित हार बेहोरेको नेपाल आज जित निकाल्दै शृंखलामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग आठ विकेटको पराजय भोगेको थियो। त्यसैले लिग–२ को अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउन आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ। लगातार पराजयले शीर्ष चारको दौड कठिन बन्ने भएकाले नेपाली टोलीमाथि जित निकाल्ने दबाब रहेको छ।
शृंखलाअन्तर्गत नेपालले अब जुलाई २७ मा नामिबिया र जुलाई २९ मा पुनः नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
हालसम्म लिग–२ मा नेपालले २९ खेलबाट २४ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ। समान खेल खेलेको नामिबिया पनि २४ अंकमै रहे पनि रनरेटका आधारमा छैटौँ स्थानमा छ। २८ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।
अंक तालिकाको शीर्ष स्थानमा अमेरिका ४३ अंकसहित अग्रस्थानमा रहँदा स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा छ। ३१ अंक जोडेको ओमान चौथो स्थानमा रहेको छ। शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाउन नेपालले बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै कम्तीमा चार जित निकाल्नुपर्ने अवस्था छ।
यसैगरी क्यानडा २४ अंकसहित सातौँ स्थानमा छ भने युएई १४ अंकका साथ तालिकाको पुछारमा रहेको छ।
तपाईको प्रतिक्रिया