काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दल तथा संगठनहरूले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
वि.सं. १९८१ साल असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक अगुवा मानिन्छन्। उनले भारतको कोलकातामा २००६ साल वैशाखमा नेकपाको स्थापना गरेका थिए। उनी शहीद गंगालाल श्रेष्ठका भाइ पनि हुन्।
पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टो पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनका विभिन्न लेख, पुस्तक र राजनीतिक विचारले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गरेको मानिन्छ।
पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेससहित लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलन गर्नुपर्ने उनको धारणा थियो। २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो।
उनको स्मृति दिवसका अवसरमा विभिन्न स्थानमा विचारगोष्ठी, श्रद्धाञ्जली सभा र स्मरण कार्यक्रम आयोजना गरिँदै छन्।
तपाईको प्रतिक्रिया