शुक्रबार ८ श्रावण २०८३
समाज

सम्पत्ति विवरण बुझाउन वाग्मती प्रदेशसभा सचिवालयको आग्रह

बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26

हेटौँडा । वाग्मती प्रदेशसभा सचिवालयले आर्थिक वर्ष २०८२/८३ मा सचिवालयबाट सेवा–सुविधा प्राप्त गरेका प्रदेशसभा सदस्य, उनीहरूका स्वकीय सचिव तथा हलुका सवारी चालकलाई तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको छ।

बुधबार प्रकाशित सूचनामा सचिवालयले राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।

उक्त कानुनी प्रावधानअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशसभा सचिवालयबाट पारिश्रमिक तथा अन्य सेवा–सुविधा लिएका प्रदेशसभा सदस्य, स्वकीय सचिव र हलुका सवारी चालकले सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा सम्पत्ति विवरण फाराम बुझाउनुपर्नेछ।

सचिवालयले निर्धारित समयभित्र विवरण नबुझाउने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(२) अनुसार १० हजार रुपैयाँ प्रशासनिक जरिबाना लाग्ने चेतावनीसमेत दिएको छ।

तपाईको प्रतिक्रिया