धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि आफ्नो २४औँ आमरण अनसन सुरु गरेका छन्। उनले दिउँसो ३ बजेदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह थालेका हुन्।
डा. अमृत जैशीका अनुसार सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको र आफ्ना मागप्रति आवश्यक संवेदनशीलता नदेखिएको भन्दै डा. केसी पुनः अनसनमा बसेका हुन्।
अनसन सुरु हुनुअघि सुदूरपश्चिमका विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अगुवा तथा स्थानीय सरोकारवालाले उनलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए। गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेको अवस्थामा आन्दोलनले त्यस प्रक्रियामा असर पर्न सक्ने उनीहरूको भनाइ थियो।
डा. केसीले सरकारसँग भएका पूर्वसहमति तत्काल कार्यान्वयन गर्न, चिकित्सा शिक्षा आयोग तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुनविपरीत गरिएका नियुक्ति सच्याउन माग गरेका छन्।
स्थानीय तहबाट आन्दोलन रोक्न निरन्तर आग्रह आए पनि सरकारले आफ्ना मागलाई गम्भीर रूपमा नलिएको निष्कर्षसहित डा. केसीले २४औँ सत्याग्रह सुरु गरेका हुन्।
तपाईको प्रतिक्रिया