अर्गानिक वस्तुको प्रवर्द्धनमा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक वस्तुको विकास र प्रवर्द्धनमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले आवश्यक परे ऐन–कानुन संशोधन वा नयाँ व्यवस्था गरेर अर्ग्यानिक क्षेत्रका समस्याको समाधान खोजिने बताएका हुन्।
छलफलका क्रममा संघका प्रतिनिधिहरूले अर्ग्यानिक मलमा अनुदानको व्यवस्था, अर्ग्यानिक वस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने प्रणाली तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक प्रमाणीकरण संस्था स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
संघका अध्यक्ष दीपक प्रकाश बास्कोटाका अनुसार प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक प्रमाणीकरण संस्था स्थापना गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सचिवालयलाई तत्काल निर्देशन दिएका छन्। यसका लागि आवश्यक ऐन तथा कानुन निर्माण वा संशोधनको प्रक्रिया अगाडि बढाइने उनले बताए।
बास्कोटाले हाल अर्ग्यानिक वस्तुमा दिइँदै आएको अनुदान रोकिएको विषय पनि प्रधानमन्त्रीसमक्ष लिखित रूपमा जानकारी गराइएको बताए। नेपालमा उत्पादन हुने अर्ग्यानिक वस्तुको अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेकाले उत्पादन वृद्धि र प्रभावकारी बजारीकरणमा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव पनि संघले दिएको उनले जानकारी दिए।
संघले उठाएका अधिकांश विषयमा प्रधानमन्त्री सकारात्मक देखिएको अध्यक्ष बास्कोटाको भनाइ छ। उद्योग तथा व्यवसायको विकासका लागि प्रधानमन्त्री शाहले पछिल्लो समय विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग नियमित छलफललाई निरन्तरता दिँदै आएका छन्।
तपाईको प्रतिक्रिया