शुक्रबार ८ श्रावण २०८३
समाज

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26

काठमाडौँ । देशभर बुधबार मात्रै भएका ४७ वटा विपद्जन्य घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६, सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार गरी कुल ४७ घटना दर्ता भएका छन्।

यी घटनाबाट सात परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्राधिकरणका अनुसार पहिरोका घटनामै दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन्। साथै, विभिन्न विपद्का कारण करिब एक करोड ९० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

यस्तै, चालु वर्षको वैशाख १ गतेयता देशभर दुई हजार ३६१ विपद्जन्य घटना भइसकेका छन्। ती घटनामा हालसम्म १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन्। यस अवधिमा चार हजार ८६९ परिवार विभिन्न विपद्का कारण प्रभावित भएको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया