शुक्रबार ८ श्रावण २०८३
बिजनेस

पाँच हजार अमेरिकी डलर भन्सार घोषणा नगरी ल्याउन पाइने

शुक्रबार श्रावण ८, २०८३/ Friday 07-24-26

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाली तथा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरसम्मको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्ने व्यवस्था रहेको स्पष्ट गरेको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पाँच हजार अमेरिकी डलर बराबरसम्मको अमेरिकी मुद्रा तथा सोही बराबरको भारतीय रुपैयाँ भन्सार घोषणा नगरी ल्याउन सकिने जनाएको हो।

तर, पाँच हजार अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको विदेशी मुद्रा नेपाल ल्याउँदा भने अनिवार्य रूपमा भन्सार कार्यालयमा घोषणा गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

त्यसैगरी, सन् २०१६ नोभेम्बर ९ देखि प्रचलनमा रहेका भारतीय २०० र ५०० रुपैयाँका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत् रहेको पनि सूचनामा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यस्ता मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन भने पाउने छैनन्।

यस्तै, सन् २०१६ नोभेम्बर ९ अघि प्रचलनमा रहेका भारतीय ५०० र १,००० रुपैयाँ दरका नोटको कारोबारमा लगाइएको प्रतिबन्ध भने यथावत् कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया