टी–२० विश्वकपका सर्वाधिक रनकर्ता साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
काठमाडौं । पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहानले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ मा कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णाली याक्सले शुक्रबार फरहानलाई टोलीमा अनुबन्ध गरेको औपचारिक जानकारी दिएको हो।
कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत फरहानलाई स्वागत गर्दै सन् २०२६ को टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर अब आफ्नो टोलीमा आबद्ध भएको जनाएको छ।
भारत र श्रीलङ्कामा आयोजित सन् २०२६ को आइसिसी टी–२० विश्वकपमा फरहानले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले प्रतियोगिताका छ खेलमा दुई शतकसहित कुल ३८३ रन बनाएका थिए। यो एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो।
३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। उनले ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकको मद्दतमा एक हजार ५५४ रन बनाएका छन्।
समग्र टी–२० क्रिकेटमा फरहानको प्रदर्शन पनि उल्लेखनीय छ। उनले १८६ खेलमा नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन्।
फरहानले यसअघि लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा खेलिसकेका छन्। एनपिएल उनको चौथो विदेशी फ्रेन्चाइज लिग हुनेछ।
कर्णाली याक्सले यसअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ।
तपाईको प्रतिक्रिया