नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्यो २ लाख २३ हजार अवैध बेटिङ साइट
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार प्राधिकरणले त्यस्ता प्लेटफर्ममाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको हो।
प्राधिकरणका अनुसार यस वर्ष फिफा विश्वकप सुरु भएयता मात्रै २ लाख २३ हजार ५६८ वटा बेटिङ वेबसाइट र एप ब्लक गरिएको छ। विश्वकपका बेला अनलाइन सट्टेबाजीको जोखिम बढ्ने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष चासोपछि निगरानी थप कडा बनाइएको जनाइएको छ।
यसका लागि प्राधिकरणले विशेष कार्यदल गठन गरेको छ। कार्यदलका सदस्य तथा प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप अवधिभर इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिलाई प्राधिकरणमै परिचालन गरी बेटिङ वेबसाइटहरू तत्काल ब्लक गर्ने व्यवस्था गरिएको थियो।
उनका अनुसार आईएसपीसँगको सहकार्यमा अवैध वेबसाइटका यूआरएल ब्लक गरिन्छ। एउटा वेबसाइट बन्द गरेपछि नयाँ नाममा अर्को खुल्ने प्रवृत्ति रहेकाले निरन्तर निगरानी र कारबाही आवश्यक हुने उनले बताए।
प्राधिकरणले ‘थ्रेट इन्टेलिजेन्स टुल’को प्रयोग गरी नयाँ खुल्ने अवैध वेबसाइटहरू पहिचान गर्ने र तत्काल ब्लक गर्ने व्यवस्था मिलाइएको जनाएको छ। यस कार्यका लागि छुट्टै जनशक्ति पनि परिचालन गरिएको छ।
यस्तै, सर्वसाधारणले अवैध बेटिङ वा वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटबारे जानकारी भए प्राधिकरणले उपलब्ध गराएको GitHub प्लेटफर्ममार्फत सूचना उपलब्ध गराउन पनि आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया