काठमाडौं । अब नागरिक एप प्रयोगकर्ताले एपमार्फत नै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा यस्तो सुविधा सार्वजनिक गरेको हो ।
राष्ट्रिय परिचयपत्र भएका र नागरिक एपमा आबद्ध नेपाली नागरिकले एपमार्फत बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी अनलाइनबाटै खाता खोल्न सक्नेछन् । यसका लागि आवश्यक क्यूआर कोड बैंकको सम्बन्धित लिङ्कबाट प्राप्त गर्न सकिनेछ ।
नेपालमा पहिलोपटक सुरु गरिएको भनिएको यस सेवामार्फत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्रधारी नागरिकले बैंकमा उपस्थित नभई अनलाइनबाटै खाता खोल्न सक्नेछन् ।
खाता खोल्ने क्रममा ग्राहकको पूर्वसहमति लिएर आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने बैंकले जनाएको छ । यसले व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हटाउनुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षालाई समेत प्राथमिकता दिने बताइएको छ ।
नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनमा ल्याउन भने ग्राहकले नजिकको बैंक शाखामा पुगेर वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ ।
बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरु गरिएको यो सेवाले बैंक खाता खोल्ने प्रक्रियालाई थप सरल, सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउनेछ ।
आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ लगायतका पुरस्कार प्राप्त गरेको जनाएको छ ।
बैंकले हाल ७७ वटै जिल्लामा ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।
यस्तै, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ ।
तपाईको प्रतिक्रिया