काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले एकै ओभरमा दुई विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले शेर्फेन रदरफोर्ड र स्कट कुगेलाइनलाई लगातार गुमाएको हो।
खेलको ९ ओभर २ बलमा रदरफोर्ड आउट भए। उनले ४ बलमा १ रन बनाए। त्यसको दुई बलपछि कुगेलाइन पनि आउट भए। उनले २ बल खेले पनि रन बनाउन सकेनन्। दुवै विकेट लुम्बिनी लायन्सका बलर शेर मल्लले लिए।
दुवै टोलीको प्लेइङ ११
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले चार विदेशी खेलाडीसहितको टोली मैदानमा उतारेका छन्। टोलीमा सेफ जेब, ब्रान्डन म्याकमुलन, शेर्फेन रदरफोर्ड र स्कट कुगेलाइन विदेशी खेलाडीका रूपमा छन्।
स्वदेशी खेलाडीमा विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहोरा छन्।
यता, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले पनि चार विदेशी खेलाडीसहित प्रतिस्पर्धा गरिरहेको छ। टोलीमा अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलंकाका विकेटकिपर निरोशन डिकवेला, बंगलादेशका शमीम होसेन र दक्षिण अफ्रिकाका शाडले भान साल्कविक छन्।
लुम्बिनीको टोलीमा आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, किशोर महतो र तिलक भण्डारी पनि समावेश छन्।
हेड टु हेडमा सुदूरपश्चिमको वर्चस्व
एनपीएलका अघिल्ला संस्करणमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच तीन खेल भएका छन्। तीमध्ये लुम्बिनीले अघिल्लो सिजनको फाइनलमा जित निकालेको थियो भने लिग चरणका दुवै खेलमा सुदूरपश्चिम विजयी भएको थियो।
अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो। त्यसअघि भएको लिग चरणको खेलमा पनि सुदूरपश्चिमले ४५ रनको जित निकालेको थियो।
लुम्बिनी लगातार पाँच खेलमा अपराजित
लुम्बिनी लायन्स पछिल्ला पाँच खेलमा अपराजित रहँदै उद्घाटन खेलमा उत्रिएको छ। अघिल्लो सिजनको प्लेअफमा लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले र एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पराजित गरेको थियो।
त्यस्तै, लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएको लुम्बिनीले त्यसअघि विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो।
सुदूरपश्चिमको पछिल्लो प्रदर्शन मिश्रित
सुदूरपश्चिम रोयल्सले पछिल्ला पाँच खेलमध्ये तीनमा जित र दुईमा हार बेहोरेको थियो। अघिल्लो सिजनको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराएको सुदूरपश्चिम फाइनलमा भने पराजित भएको थियो।
लिग चरणको अन्तिम खेलमा विराटनगरसँग सुदूरपश्चिम ६ विकेटले पराजित भएको थियो। त्यसअघि चितवन राइनोजलाई ४९ रन र जनकपुर बोल्ट्सलाई ७२ रनले हराउँदै सुदूरपश्चिमले आफ्नो बलियो प्रदर्शन देखाएको थियो।
तपाईको प्रतिक्रिया