मंगलबार १० कार्तिक २०८३
बिजनेस

ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ अवार्ड

सोमबार कार्तिक ९, २०८३/ Monday 10-26-26

काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२६ को ‘बेष्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सले प्रदान गर्ने यो सम्मानसँगै बैंक लगातार तेस्रो वर्ष उत्कृष्ट बैंक घोषित भएको हो।

बैंकले सन् २०२४ र २०२५ मा पनि यही विधामा अवार्ड प्राप्त गरेको थियो। थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, व्यावसायिक साझेदारी, ग्राहक सेवामा नवीनता र आधुनिक प्रविधिको प्रयोगलाई मूल्याङ्कन गर्दै बैंकलाई सम्मान गरेको जनाएको छ। यस्तै, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह तथा प्रभावकारी जोखिम व्यवस्थापनलाई पनि मूल्याङ्कनको आधार बनाइएको थियो।

अवार्ड समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रमुख वित्तीय संस्थाहरू सम्मानित भएका थिए। हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकले पनि विभिन्न विधामा सम्मान प्राप्त गरेका थिए।

ग्लोबल आइएमई बैंकले यस सम्मानले ग्राहकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रेरणा मिलेको जनाएको छ। बैंकले आफ्नो प्रगतिमा सहयोग पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ।

ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक हो। बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ लगायतका सम्मान प्राप्त गरिसकेको छ। यस्तै, सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सलेन्स तथा सन् २०२४ मा बेष्ट बैंक ईएसजी नेपाल र बेष्ट इम्प्लोयरजस्ता सम्मान पनि प्राप्त गरेको बैंकले जनाएको छ।

देशका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टरमार्फत सेवा दिँदै आएको छ। बैंकका विदेशमा तीन प्रतिनिधि कार्यालयसमेत छन्।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। यसबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउनुका साथै विदेशमा रहेका नेपालीलाई बैंकिङ सेवासँग जोड्न सहयोग पुगेको बैंकको भनाइ छ।

 

तपाईको प्रतिक्रिया