बुधबार १३ श्रावण २०८३
जीवनशैली

चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

मंगलबार श्रावण १२, २०८३/ Tuesday 07-28-26

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार साँझ विज्ञप्ति जारी गर्दै साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणमा गम्भीर चोट लागेको र अस्पतालमा तोडफोडसमेत भएको जनाएको छ।

घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा प्रहरी परिचालन गरी नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरिएको संघको आरोप छ।

यस्ता घटनाले चिकित्सकहरूको सुरक्षा गम्भीर रूपमा प्रभावित भएको भन्दै संघले विरोधस्वरूप आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

सेवा बन्दबाट बिरामी तथा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै संघले यसको सम्पूर्ण जिम्मेवारी सरकारको हुने स्पष्ट पारेको छ।

 

तपाईको प्रतिक्रिया