लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य निरन्तर
बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्यले नै निरन्तर गर्ने भएका छन्। नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता सहकार्यको सहमति भएसँगै नेतृत्व परिवर्तनको चर्चा चले पनि एमालेले आचार्यमाथि नै विश्वास कायम राख्ने निर्णय गरेको हो।
भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबीच भएको छलफलपछि आचार्यलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने सहमति भएको स्रोतले जनाएको छ।
मुख्यमन्त्री आचार्यले पनि उक्त निर्णयको पुष्टि गर्दै अब नेकपासँग सत्ता साझेदारी र नयाँ सरकार गठनका विषयमा थप छलफल अघि बढाइने बताए। उनका अनुसार शुक्रबारदेखि सरकार गठनसँग सम्बन्धित आवश्यक संवाद सुरु हुनेछ।
केन्द्रमा एमाले र नेपाली कांग्रेसबीचको सत्ता गठबन्धन अन्त्य भएपछि लुम्बिनी प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने प्रक्रिया अघि बढिरहेको छ। यही क्रममा प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विभिन्न अड्कलबाजी भए पनि अन्ततः एमालेले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
यसअघि मुख्यमन्त्री आचार्यसँगै एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलगायत नेताहरू पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा चर्चामा रहे पनि पार्टी नेतृत्वले वर्तमान नेतृत्वलाई नै कायम राख्ने निष्कर्ष निकालेको छ।
तपाईको प्रतिक्रिया