शुक्रबार १५ श्रावण २०८३
समाज

कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

बिहीबार श्रावण १४, २०८३/ Thursday 07-30-26

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो निधन भएको हो। उनी आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए।

जयप्रकाशको मृत्यु भएसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

यसअघि सोही घटनामा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। झडपका क्रममा प्रहरीले गोली चलाउँदा अन्य आठ जना प्रदर्शनकारी घाइते भएका थिए भने प्रहरीतर्फ पनि आठ जना सुरक्षाकर्मी घाइते भएका थिए।

घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया