शुक्रबार १५ श्रावण २०८३
समाज

सुनसरीबाट फैलिएको साम्प्रदायिक तनाव मधेशसम्म, सिरहा र धनुषामा कर्फ्यु

बिहीबार श्रावण १४, २०८३/ Thursday 07-30-26

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरु भएको दुई समुदायबीचको तनाव मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। समयमै अवस्था नियन्त्रणमा ल्याउन नसक्दा सिरहा हुँदै धनुषासम्म सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

तनाव बढ्दै गएपछि सिरहाको गोलबजारलगायतका क्षेत्रमा स्थानीय प्रशासनले बिहीबार कर्फ्यु आदेश जारी गरेको छ। त्यस्तै, लहान बजार क्षेत्रमा पनि दुई समुदाय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको छ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्नुका साथै केही राउन्ड हवाई फायर गरेको जनाएको छ। स्थानीय पत्रकार मिथिलेश यादवले आफ्नै निवासअगाडि प्रहरीले अश्रुग्यास प्रहार गरेको र हवाई फायर गरिएको जानकारी दिएका छन्।

यता धनुषामा पनि प्रदर्शनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा बिहीबार दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण क्षेत्रका साथै लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रमा समेत कर्फ्यु लागू गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु अवधिमा घरबाहिर ननिस्कन तथा सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेको छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

 

तपाईको प्रतिक्रिया