राष्ट्रिय सुरक्षा परिषद्को निर्णय : सामाजिक सद्भाव र सुरक्षा समन्वयलाई थप प्रभावकारी बनाउने
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति–सुरक्षा सुदृढ बनाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र साउन १० गते सुनसरीमा भएको घटनाबारे विस्तृत समीक्षा गरिएको परिषद्का सदस्य–सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए।
उनका अनुसार भविष्यमा यस्ता घटना पुनः नदोहोरिऊन् भन्ने उद्देश्यले सुरक्षा निकाय, स्थानीय प्रशासन र अन्य सरोकारवालाबीचको सहकार्यलाई सुदृढ बनाउँदै सामाजिक सद्भाव कायम राख्ने गरी प्रभावकारी कार्ययोजना अघि बढाइने निर्णय गरिएको छ।
बैठकमा विपद्का बेला खोज, उद्धार र राहतका कामलाई छिटो तथा प्रभावकारी बनाउन सम्बन्धित निकायबीचको समन्वय थप मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो।
परराष्ट्रमन्त्री शिशिर खनालले सुनसरीको अवस्था राजनीतिक दल, स्थानीय समुदाय र सुरक्षा निकायको संयुक्त प्रयासबाट क्रमशः सामान्य बन्दै गएको जानकारी बैठकमा प्रस्तुत गरिएको बताए। उनले दीर्घकालीन शान्ति कायम राख्न स्थानीय तहमा संवाद र समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको उल्लेख गरे।
बैठकमा सम्भावित सङ्कट तथा भिड व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायको क्षमता अभिवृद्धि, आवश्यक स्रोत–साधनको व्यवस्थापन तथा तालिमलाई थप सुदृढ गर्ने विषयमा समेत छलफल भएको थियो।
बैठकमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, नेपाल सरकारका मुख्य सचिव तथा प्रधान सेनापतिसहित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया