शुक्रबार १५ श्रावण २०८३
समाज

आपसी सद्‍भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

बिहीबार श्रावण १४, २०८३/ Thursday 07-30-26

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा विकसित पछिल्लो परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।

बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले सामाजिक, धार्मिक र जातीय सद्भाव, मेलमिलाप तथा भ्रातृत्व नेपालको ऐतिहासिक पहिचान र परम्परा भएको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन्। उनले शान्ति, सुव्यवस्था र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपालीलाई संयम र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

राष्ट्रपतिले सरकारले वर्तमान विषम अवस्थालाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति–सुरक्षा पुनःस्थापित गर्न आवश्यक पहल गर्ने विश्वास पनि व्यक्त गरेका छन्। साथै, परिस्थितिलाई थप जटिल बन्न नदिन समुदायबीच आपसी विश्वास, सहिष्णुता, मित्रता र एकताको भावना कायम राख्न उनले सबैसँग अपिल गरेका छन्।

अपिलमार्फत राष्ट्रपति पौडेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

साथै, घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

तपाईको प्रतिक्रिया