शनिबार १६ श्रावण २०८३
राजनीति

प्रधानमन्त्रीलाई मधेसवादी दलको प्रश्न : कम्मरमाथि गोली हान्ने आदेश कसले दियो?

शुक्रबार श्रावण १५, २०८३/ Friday 07-31-26

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलका नेताहरूसँग समसामयिक राजनीतिक अवस्था र मधेशमा विकसित तनावपूर्ण परिस्थितिबारे छलफल गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि मधेसवादी दलसँग भएको यो दोस्रो औपचारिक संवाद हो।

यसअघि प्रधानमन्त्री शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका थिए। देशका विभिन्न क्षेत्रमा तनाव बढ्दै गएपछि उनले अन्य राजनीतिक दलका नेतासँग पनि परामर्शलाई तीव्रता दिएका छन्।

छलफलका क्रममा मधेसवादी दलका नेताहरूले आन्दोलनका क्रममा सुरक्षाकर्मीले कम्मरमाथि ताकेर गोली चलाएको विषयमा गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सहभागी नेता राजेन्द्र महतोका अनुसार सामान्य अवस्थामा गोली चलाउनुपर्ने परिस्थिति आए पनि कम्मरमुनि लक्षित गरी बल प्रयोग गर्ने प्रचलित व्यवस्था रहेको उल्लेख गर्दै यस घटनामा छाती र टाउकोमा लक्षित गरी गोली चलाइएको भन्दै त्यसको आदेश कसले दिएको हो भन्नेबारे स्पष्ट जवाफ मागिएको हो।

नेताहरूले सुनसरीको देवानगञ्जमा गत आइतबार राति भएको घटनापछि मधेश प्रदेशमा समेत तनाव फैलिएको अवस्थामा प्रधानमन्त्री पाँच दिनसम्म मौन बसेको भन्दै सरकारको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले यति गम्भीर परिस्थितिमा सरकार ढिलो सक्रिय हुनुको कारणसमेत प्रधानमन्त्रीसँग सोधेका थिए।

छलफलमा सरकारको नेतृत्व तथा सुरक्षा संयन्त्रबाट गम्भीर कमजोरी भएको आरोप लगाउँदै मधेसवादी दलका नेताहरूले घटनामा संलग्न सुरक्षा अधिकारीमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्। उनीहरूले आइतबारदेखि सुरु भएको तनावपूर्ण घटनाक्रममा राजनीतिक स्वार्थसमेत मिसिएको हुनसक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनमार्फत सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया