आगो जसले लगाए पनि निभाउने जिम्मा कांग्रेसको होः सभापति थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा देखिएको विषम परिस्थितिलाई समाधान गर्न जिम्मेवार राजनीतिक शक्तिका रूपमा कांग्रेसले संयमित र प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका विभिन्न तहका नेताहरूसँग भएको छलफलमा सभापति थापाले कुनै पनि विषयमा धारणा बनाउनु अघि सत्यतथ्य बुझ्नुपर्नेमा जोड दिए।
उनले सार्वजनिक भएका विषयमा तत्काल प्रतिक्रिया दिने, टिप्पणी गर्ने वा लेख्ने प्रवृत्तिले समाजमा भ्रम फैलाउन सक्ने भन्दै राजनीतिक नेतृत्वले विवेकपूर्ण ढंगले अघि बढ्नुपर्ने बताए।
“कुनै पनि विषयवस्तु सार्वजनिक हुनेबित्तिकै हतारमा प्रतिक्रिया दिने प्रवृत्ति त्याग्नुपर्छ। सूचनाको गहिराइ र आधिकारिकता नबुझी बोल्दा समाजमा अनावश्यक भ्रम फैलिन सक्छ र त्यसले अपूरणीय क्षति निम्त्याउन सक्छ,” थापाले भने।
उनले अहिलेको अवस्थालाई सम्बोधन गर्न सबै पक्षले संयम अपनाउनुपर्ने उल्लेख गर्दै भने, “आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो। हामी जिम्मेवार शक्ति भएकाले सही सूचना र विवेकका साथ अघि बढ्नुपर्छ।”
सभापति थापाले पार्टीका कर्मचारी, पदाधिकारी र आफू स्वयं पनि नेता तथा कार्यकर्ताको निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै संसदीय दलका नेता र सांसदहरूलाई समेत आवश्यक समन्वय र परिचालन गरिएको बताए।
तपाईको प्रतिक्रिया