शनिबार १६ श्रावण २०८३
राजनीति

तराई–मधेशको सुरक्षा अवस्था सुदृढ बनाउन १५ उच्च प्रहरी अधिकृत फिल्डमा खटाइए

शुक्रबार श्रावण १५, २०८३/ Friday 07-31-26

काठमाडौं। तराई–मधेशका जिल्लामा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजी तहसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार प्रभावित जिल्लामा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, समन्वयात्मक र चुस्त बनाउन उच्च तहका प्रहरी अधिकृतहरू फिल्डमा खटाइएको हो।

गत साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि तराई–मधेशका विभिन्न जिल्लामा तनाव उत्पन्न भएको थियो। त्यसयता मोरङ, सुनसरी, सिरहा र धनुषालगायत जिल्लामा प्रदर्शन, आगजनी तथा तोडफोडका घटना भएका छन्।

बिग्रँदो सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुका साथै आवश्यक स्थानमा नेपाली सेनासमेत परिचालन गरेको छ। घटनासँग सम्बन्धित हिंसात्मक गतिविधिमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार खटाइएका उच्च अधिकृतहरूले सुरक्षा स्रोत–साधनको प्रभावकारी परिचालन, सुरक्षा अवस्थाको निरन्तर मूल्यांकन, नीति निर्देशन, सुरक्षा कार्ययोजनाको कार्यान्वयन तथा सूचना संकलन र विश्लेषण गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।

आवश्यकताअनुसार उनीहरू प्रत्यक्ष रूपमा फिल्डमा खटिएर सुरक्षा व्यवस्थापन, अन्तरनिकाय समन्वय र शान्ति–सुरक्षा कायम गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया