आइतबार १७ श्रावण २०८३
मनोरन्जन

बलिउड अभिनेत्री शिल्पा शेट्टीले गरिन् पशुपतिनाथमा विशेष पूजा

शनिबार श्रावण १६, २०८३/ Saturday 08-01-26

काठमाडौं। बलिउड अभिनेत्री शिल्पा शेट्टीले साउन महिनाको शनिबार पारेर आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजा, आराधना तथा दर्शन गरेकी छन्।

पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमका अनुसार शेट्टीले दुई हजार १०० रुपैयाँ दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा सम्पन्न गरेकी हुन्। उनी सामान्य दर्शनार्थीका रूपमा बिहानै मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा–आराधनामा सहभागी भएकी थिइन्।

गौतमले साउन महिना भगवान् शिवको विशेष महिना भएकाले नेपालसहित भारत र अन्य देशबाट हजारौं श्रद्धालु पशुपतिनाथ दर्शनका लागि आउने गरेको बताए। उनका अनुसार प्रत्येक वर्ष साउन महिनामा भारतका कलाकार, राजनीतिज्ञ, उद्योगपति तथा अन्य विशिष्ट व्यक्तित्वहरू पनि पशुपतिनाथमा पूजा र दर्शन गर्न आउने परम्परा रहँदै आएको छ।

साउन महिनाका शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ। यस अवधिमा मन्दिर व्यवस्थापनले दर्शन र पूजाआजाका लागि विशेष व्यवस्था मिलाएको छ।

 

तपाईको प्रतिक्रिया